सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
सिरहा | माघ २८, २०८१
सिरहा: सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ ।
देवीदह सामुदायिक वन भित्र पर्ने छ हेक्टर क्षेत्रफलमा फैलिएका यस सिमसार क्षेत्रको संरक्षण र सबर्द्धनका लागि निरन्तर पहल गरेतापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादव बताउनुभयो ।
“यस दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरुको घुइँचो लाग्ने गर्दछ । भक्तजनले भाकल गरे मनोकाङ्क्षा पुरा हुने तथा रोगव्याधि हटेर जाने जनविश्वास रहेको छ”, उहाँले भन्नुभयो,“तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । बनेका कतिपय संरचनाहरु जीर्ण छन भने कतिपय अधुरै छन् ।” उहाँका अनुसार पोखरीमा ‘जलयात्रा’का लागि रहेका पाँच डुङ्गामध्ये दुई मात्रै सञ्चालनमा रहेका छन् ।
नेपालका प्रथम राष्ट्रपति डा।रामबरण यादवले आफ्नो कार्यकालमा यस क्षेत्रमा भ्रमण गरि पोखरीको संरक्षणको लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत रु एक करोड ५९ लाख बजेट विनियोजन भएको अध्यक्ष यादवले जानकारी दिनुभयो । उक्त रकमबाट पोखरी परिसरमा रामजानकी मन्दिर, खानेपानी व्यवस्थापन, लगाएतका काम भएको उहाँले जानकारी दिनुभयो ।
नेपाल पर्यटन वोर्डबाट २०७७ साल भदौ १ गते देवीदह पोखरीको संरक्षण र सौन्दर्यकरणको लागि पाँच करोड २२ लाखको योजना सम्झौता समेत भएको तर कार्यान्वयन हुन नसकेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
नगरले आफ्नो तर्फबाट व्यहोर्नुपर्ने ३० प्रतिशत उत्तरदायित्व बहन नगरेकाले आयोजनाले परिकल्पना गरेको लहानको खुट्टीखोलादेखी देवीदहसम्मको छ किलोमिटर सडक कालोपत्रे, पोखरी परिसरमा ‘पेभिलियन’ भ्यु टावर, क्वीमिङ्ग पुल लगाएतका संरचना अघि बढ्न नसकेको उहाँको भनाई छ ।
वर्तमान नगरप्रमुख महेश प्रसाद चौधरीलाई धेरैपटक ताकेता गर्दापनि कुनै सुनुवाई हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।
देवीदहको विकासका लागि आफुँले सकेको सहयोग गरिरहेको यसै वडाका वडाअध्यक्ष प्रथमलाल चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो,“वडाको स्रोत र साधन कति नै हुन्छ र । त्यही पनि हामीले सकेको सहयोग गरिरहेका छौँ ।”
गत वर्ष वडाको आठ लाख आर्थिक सहयोगमा देवी मन्दिर निर्माण गरेको उहाँले जानकारी दिनुभयो । चुरे क्षेत्रमा भूमिगत पानीको सतह घटदै गएको अवस्थामा यस प्रकारका पोखरीहरुको संरक्षण र सम्बर्द्र्धनका लागि तीनै तहका सरकारले प्रथमिकता दिनुपर्ने वडाअध्यक्ष चौधरीको भनाइ छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

